काठमाडौं, कार्तिक २८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आइतबार सर्वोच्च अदालतको मुलद्धारमा धर्ना दिने तयारी गर्नु भएको छ । प्रधानन्यायाधीश राणालाई सर्वोच्चामा प्रवेश गर्न नदिने उद्देश्यका साथ उहाँहरुले मुलद्धारमा धर्ना दिन लाग्नु भएको हो ।
नेपाल बार एशोसिएसनका अनुसार आइतबार बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश राणलाई रोक्नको लागि मुलद्धारमा धर्ना दिने कार्यक्रम छ।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने घोषणा गरेका बताउनु भयो ।
‘आइतबार पनि बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म सर्वोच्चको गेटमा जहाँबाट उनी (प्रधानन्यायाधीश) पस्ने गरेका छन्, हामी त्यहाँ धर्ना दिन्छौं,’ अध्यक्ष श्रेष्ठले भन्नु भयो।
धर्नामा सहभागी हुन सबै वकिलहरूलाई बिहान ९ बजे बारको प्रांगणमा भेला हुन भनिएको छ ।
शुक्रबार प्रधानन्यायाधीश राणासर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गर्नु भएको थियो । मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

