Kath Khabar
‘चोलेन्द्र शमसेर राजीनामा आजै दे, भ्रष्टका मतियार होसियार’, भन्दै सर्वोच्चमा लाग्यो नारा

काठमाडौं, मंसिर १ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले धर्ना दिनु भएको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा कात्तिक पहिलो सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरु धर्नालाई बुधबार पनि निरन्तरता दिनु भएको हो ।

धर्नामा बसेका कानुन व्यवसायीहरुले ‘चोलेन्द्र शमसेर राजीनामा आजै दे, भ्रष्टका मतियार होसियार’, ‘बार एकता जिन्दावाद, बार एकता जिन्दावाद’ ,‘ विचौलियाको नाइके राजीनामा दे’, भन्दै नाराबाजी गर्नु भएको छ ।

प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशरुले पनि इजलास बाहिष्कार गर्दै आउनु भएको छ । मंगलबार सर्वोच्चका ४ जना न्यायाधीशरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेर्नु भएको छ  ।

बारले गरेको धर्ना कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतका प्रधानन्यायाधीशले न्याय बेचेर सरकारसँग भाग मागेको आरोप लगाउनु भएको छ । “न्याय बेचेर भाइ भारदार धनी बनाउने, सरकारसँग भाग माग्ने ,” उहाँले भन्नु भयो , “हामीले प्रधानन्यायाधीशको सिट खालि गरिसक्यौँ । हामी गएर प्रश्न सोध्न सक्छौँ तपाईंले कति घुस खानुभएको हो । ”

“प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको तथ्यांकसहित आफूहरु प्रस्तुत गर्ने सक्ने बताँदउदै उहाँले सो कुरा प्रस्तुत गरेपछि यि राजनीतिक दलले के गर्लान् ?,”  प्रश्न गर्नु भयो ।

प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गर्नु भएको छ भने नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update