
काठमाडौं, मंसिर २। नेपाली कांग्रेसका दोस्रो तहका नेताहरू निरन्तर छलफलमा छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन लक्षित छलफललाई सहभागी नेताहरूले ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’ नाम दिएका छन् । अभियानको संयोजन संविधानसभा सदस्य एवं कांग्रेस नेता रञ्जित कर्णले गरिरहेका छन् । छलफलमा सहभागीहरू अधिकांश संस्थापन इतरका नेताहरू छन् । काठमाडौंमा चरणबद्ध छलफलमा रहेका नेताहरूले १४ औं महाधिवेशनमा आफ्नो ‘स्पेस’ सुरक्षित गर्नेतर्फ केन्द्रित भएको पनि पाइएको छ ।
अभियानको संयोजन गरिरहेका नेता रञ्जित कर्णले नेपाली कांग्रेसको शुद्धिकरणको लागि आफूहरू छलफलमा जुटिरहेको बताउनुभएको छ । कर्णसँगै दोस्रो पुस्ताका नेताहरू मनोजमणि आचार्य, प्रतिमा गौतम, अमर पुन, प्रा.डा. अमिता प्रधान, उमा शिवाकोटी, कुसुम थापा, रीता खनाल, प्रदेशसभा सदस्य बिजुला वर्मा राणासहित झण्डै २ सय नेताकार्यकर्ताले विभिन्न चरणमा छलफल चलाइरहनुभएको छ ।
के–के विषयमा हुँदैछ छलफल ?
अभियानको संयोजन गरिरहेका नेता कर्णले विषम परिस्थितिमा आएको महाधिवेशनको नयाँ कार्यतालिका अन्तिम अवसर भएकाले विधिवत एवं पारदर्शी ढंगले अधिवेशनहरू सम्पन्न गर्ने प्रक्रियामा होमिन सम्पूर्ण साथी एवं अभियन्ताहरूमा आह्वान गर्दै छलफल अघि बढाइएको बताउनुभएको छ ।
‘पछिल्लो समय सार्वजनिक भएका विभिन्न जिल्लाका क्रियाशील सदस्यताको सूचीमा समेत केन्द्रबाट फर्जी नामावली थपघट गरिएको आवाज आउनु दुःखद पक्ष छ, अधिवेशन समयसीमाको अन्तिम क्षण पुगिसक्दा पनि रौतहट र रसुवा जिल्लाको क्रियाशील सदस्यता अन्तिम रूप दिन नसक्नु दुर्भाग्यपूर्ण भएकाले अविलम्ब सार्वजनिक गर्न माग गर्दछौँ,’ कर्णले भन्नुभयो । त्यसैगरी, नेता मनोजमणि आचार्यले यसअघि भएका छलफलका आधारमा केही जिल्लामा भएको बलमिचाइँ र धाँधली सच्याएर निष्पक्ष रुपमा अधिवेशन हुनुपर्ने माग गर्नुभएको छ । ‘हामीले यसअघि भएको छलफलमै प्रष्ट भनेका छौं– प्रतिबन्धित कालमा समेत तत्कालीन सत्ता र प्रहरी–प्रशासनसँग जोगिएर अधिवेशन सम्पन्न गरेको कांग्रेसको १४औं अधिवेशनका क्रममा डडेल्धुरा, हुम्ला लगायतका जिल्लामा प्रहरी लगाएर अधिवेशन सम्पन्न भएको घोषणा गर्ने चित्रले कांग्रेसको चरित्र बाँच्न नसक्ने निक्र्यौल गरेका छौँ,’ उहाँले भन्नुभयो । डडेल्धुरा, हुम्ला लगायतका जिल्लाहरूको अधिवेशन प्रक्रियाको निष्पक्ष छानवीन गरी सम्पूर्ण क्रियाशील सदस्यहरूलाई जिल्ला अधिवेशनमा सहभागी हुने कुराको सुनिश्चितताका लागि जोडदार माग गरिएको आचार्यले बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका नेता कर्णले नेपाली कांग्रेसको विभिन्न भातृ एवं शुभेच्छुक संस्थाहरूको नेतृत्वबाट कांग्रेसको नेतृत्वको मूलधारमा समाहित हुन खोज्ने र जनआन्दोलन लगायतका संघर्षमा नेतृत्व गरेको पुस्ताका सम्पूर्ण साथीहरूलाई यो वा त्यो बहाना गुटबन्दीको चपेटामा पारी बञ्चित नगर्न र उदार दिलले ग्रहण गर्न सिंगो पार्टी पङ्क्तिलाई अनुरोध गरिएको बताउनुभएको छ । नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले १४ औँ महाधिवेशन पटक–पटक तोकिने तर सम्पन्न नहुने विडम्बनापूर्ण परिस्थितिले नेपाली कांग्रेस पार्टीको गरिमामा ठूलो क्षति पुगेको निष्कर्ष निकाल्दै ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’ले छलफल चलाएको जानकारी दिनुभएको छ ।
‘छलफलले महाधिवेशनका विभिन्न विषयमा नेतृत्वलाई निरन्तर खबरदारी गर्नुपर्ने निष्कर्ष निकालेको छ, गत साउन महिनादेखि सक्रिय यो अभियानमार्फत् पार्टी सभापतिलाई ध्यानाकर्षणपत्र, सिंगो केन्द्रीय समितिलाई पार्टी विधान र मुलुकको संविधानकोप्रति बुझाउने प्रतिकात्मक कार्य साथै जिल्ला सभापतिहरूले आयोजना गरेको रिले अनशनमा ऐक्यवद्धता जनाउँदै सहभागी भएका थियौँ । हाम्रो अभियानको मर्म थियो– लोकतन्त्र र संविधान रक्षाको संघर्षमा होमिएको एवं विधिको शासनको मूलप्रवाह नेपाली कांग्रेसको जीवनबारे कुनै कोणबाट प्रश्न उठ्नु भएन । र, महाधिवेशनबाट रुपान्तरित कांग्रेसले मात्र देश, संविधान र लोकतन्त्र सम्हाल्न सक्छ भन्ने हाम्रो निष्कर्ष छ,’ नेतृ गौतमले भन्नुभयो ।
नेता कर्णले महाधिवेशनबारे अनेकन पक्षबाट गरिएका खबरदारीका बाबजुद पार्टी विधान एवं मुलुकको संविधानले दिएको वैधानिक सीमारेखा भित्र पनि पार्टीको १४ औं महाधिवेशन सम्पन्न नभएको विडम्बनापूर्ण अवस्थामा पार्टी पुगेकाले नै छलफल चलाएछ,’ कर्णले भन्नुभयो ।