Kath Khabar
रुपन्देही कांग्रेसमा लफडा : देउवा पक्षधरले पौडेल पक्षका नेतालाई कुटे

बुटवल, मंसिर ४ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् ।

प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा शैलेश पन्त घाइते हुनु भएको छ । उहाँको नाकको हड्डी फ्याक्चर भएको छ । उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर आक्रमण गरेको बताइएको छ ।

घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार हुनुहुन्छ । आक्रमण भएपछि मतगणना स्थगित भएको छ । मतगणनामा हार्ने निश्चित भएपछि तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आक्रमण गरिएको होे ।

 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update