Kath Khabar
आज देशभरिका अदालतमा कालो पट्टीसहित धर्ना दिँदै बार
फाईल

काठमाडौँ, मंसिर ६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको माग गर्दै तेस्रो चरणको आन्दोलन सुरु गरेको नेपाल बार एसोसिएसनले  सोमबार देशभरका अदालतमा कालो पट्टीसहित धर्ना दिँदैछ। अदालतमा १० देखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिन लागेको हो।

यस्तै, सोमबार नै संघीय संसद्मा रहेका सबै राजनीतिक दलका संसदीय दलहरूमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ । तेस्रो चरणको आन्दोलन अन्तरगत बारले आइतबार कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिएको थिए।
यस पछि बारले भोलि मंगलबार हदम्याद गुज्रिने अवस्थाका बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने, नगराउने भएको छ ।
बुधबार उच्च अदालत र तिनका इजलास रहेका १८ स्थानमा बृहत् विरोधसभा आयोजना गर्ने निर्णय पनि बारले गरेको छ । उक्त दिन सबै उच्च अदालत र उच्च अदालतका इजलासहरूमा बहस, पैरवी नगर्ने बारले जनाएको छ । त्यस्तै आगामी बिहीबार र शुक्रबार उपत्यकाका सबै बार इकाइका सदस्यलाई सर्वोच्च अदालतमा केन्द्रित गरेर विरोध कार्यक्रमलाई निरन्तरता दिने बारको निर्णय छ ।

न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर बार कात्तिक १४ देखि आन्दोलनमा छ।

यसैबीच कानुन व्यवसायीहरूले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागको विषय उठाएका छन्। सर्वोच्च अदालत परिसरभित्र शान्तिपूर्ण धर्ना कार्यक्रममा अवरोध गर्न सशस्त्र र दंगा प्रहरी परिचालन गरेको भन्दै गृहमन्त्री खाँणको माग समेत अघि सारिएको हो।

आइतबारको प्रदर्शनका क्रममा पनि सयौँ दंगा प्रहरी उपस्थित थिए। कानुन व्यवसायीले भने अदालतमा दंगा प्रहरी हटाउन माग गर्दै आएको छ। आफूहरूको आन्दोलन दमन गर्न दंगा प्रहरी परिचालन गरिएको भन्दै कानुन व्यवसायीले गृहमन्त्रीको राजीनामा मागेका हुन्।

 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update