Kath Khabar
३ वटै तहको निर्वाचन एकैपटक गर्नु पर्छ, राज्यको अर्बौं खर्च जोगिन्छ  : अध्यक्ष दाहाल

काठमाडौं, मंसिर ८ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वटै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बताउनु भएको छ । प्रेस सेन्टर कैलालीद्वारा बुधबार धनगढी एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिले निर्वाचनसम्बन्धी बहस चलिरहेकोले तीन वटा तहको निर्वाचन एकै पटक गरेमा राज्यको अर्बौं रकम बचत हुने बताउनु भयो ।

 ‘निर्वाचनसम्बन्धी बहस चलिरहेको छ । ३ वटै निर्वाचन एकैपटक गर्ने एउटा तर्क छ । संघीय, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्‍यो भने राज्यको अर्बौं खर्च वचत पनि हुन्छ । जनतालाई पनि पटक–पटक चुनाव भनेर झञ्झट दिनुभन्दा एकैपटक गर्दा सजिलो हुन्छ’, उहाँले भन्नु भयो ।

उहाँले संविधानविद्, कानूनविद् र निर्वाचन आयोगसँग पनि पर्याप्त अन्तरक्रिया गरेपछि एउटा निष्कर्षमा पुग्नु उचित हुन्छ भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा र आफूबीच समझदारी भएको बताउनु भयो ।

उहाँले आगामी निर्वाचनमा पनि ५ दलीय गठबन्धन कायम रहने दाबी गर्नु भयो । ५ दलीय गठबन्धनलाई आउँदो राष्ट्रिय सभा निर्वाचन र उपचुनावमा पनि सँगै जान नीतिगत र व्यवहारिक निर्णय नै भएको अध्यक्ष दाहालको भनाइ छ ।

 ‘कोही कोहीलाई के लाग्छ भने महाधिवेशन आएको छ । कसैलाई गठबन्धन बनाएर गयौं भने भोट धेरै आउँछ भन्ने लाग्या छ । कोहीलाई गठबन्धनको विरोध गर्‍यौं भने भोट धेरै आउँछ भन्ने लागेर भन्या हो । भित्र सबैको एउटै छ, गठबन्धन त चाहिन्छ भनेर । त्यस्तो पनि हुन्छ र भन्या, यो गठबन्धनले गर्दा मज्जाले प्रधानमन्त्री, मन्त्री पाउनु भएको छ । सरकार चलाउन पाएका छौं । अनि गठबन्धन चाहिन्न भनेर हुन्छ ? कहीँ कतै मिल्ने कुरै होइन नि ।’ उहाँले भन्नु भयो ।

पाँच दलीय समन्यव समिति भनेर उच्चस्तरको संयन्त्र बनाएपछि र चुनाव मिलेर लड्छौं भन्ने निर्णय भएपछि तत्काल देशमा अस्थिरता नआउने बताउनु हुदै अध्यक्ष दाहालले भन्नु भयो सरकार स्थिर रहनु सबैका लागि खुसीको कुरा हो ।  ‘पाँच दलीय समन्वय समिति भनेर उच्चस्तरमा संयन्त्र बनाएका छौं। त्यो पार्टीहरू बीचको संयन्त्र हो। सरकारलाई निर्देशन गर्ने, सरकारभन्दा माथि होइन,’ प्रचण्डले भने।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update