
चितवन, मंसिर १०। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।
नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनपूर्व स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा झाँकीसहितका र्याली निकालिएको थियो । नदी किनारमा नअटेपछि ठाउँठाउँमा राखिएका डिस्प्ले बोर्ड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता कार्यकर्ताले महाधिवेशन हेरी रहेका छन् ।
उद्घाटन सत्र हुने स्थल नारायणगढ र भरतपुर क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिष्ट पार्टीको हसिया हथौडा अङ्कित झण्डा र ब्यानर सझाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।
नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राष्ट्रिय पार्टीका नेताले शुभकामना दिने क्रम सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरलगायतले सम्बोधन गरिसक्नुभएको छ । सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्छ । केहीबेरअघि अध्यक्ष ओलीले राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर महाधिवेशन उद्घाटन गर्नुभएको थियो । उद्घाटन हुनुअघि जातजातिगत सांस्कृतिक कला, धून र झाँकी प्रदर्शन गरिएको थियो । सभामा विभिन्न स्थानबाट र्यालीलीसहितको जनसहभागिता बढिरहेको छ ।