Kath Khabar
एमाले लेखा आयोगमा डा. कँडेल

काठमाडौं, मंसिर १४ । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै प्रा.डा. पुष्पराज कँडेल एउटै पदमा लगातार तेस्रो पटक (ह्याट्रिक) को रेकर्ड कायम गर्नुभएको छ । 

कँडेल यस अघि आठौं र नवौँ राष्ट्रिय महाधिवेशनबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट राष्ट्रिय राजनीतिमा पाइला चाल्नुभएका कँडेल त्यस यता निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दे आउनुुभएको छ । 

डा.कँडेल पाँचौं र छैठौं मा सदस्य, सातौंमा सचिव र आठौं, नवौँ र दशौँमा निर्वाचित अध्यक्ष हुनुहुन्छ । एउटै कमिटीमा ३१ वर्ष निरन्तर काम गरेका कँडेल विधानमा उमेर हद कायमै रहे आगामी एघारौं महाधिवेशनबाट ३६ वर्ष लेखा आयोगबाटै अवकाश पाउनुहुने छ । त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गर्नुभएका कँडेल केपी ओली नेतृत्वको पछिल्लो सरकारमा ३९ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहनुभएको थियो । लेखा आयोग नेकपा एमालेको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोग हो । यसले पार्टीको आर्थिक अनुशासन र नियमनकारी निकायको भूमिका निर्वाह गर्दछ । पार्टीको पाँचौ महाधिवेशनबाट आयोगको सुरुवात भएको हो । 

पार्टीको लेखा प्रणालीलाई व्यवस्थित गर्नका लागि तत्कालीन महासचिव मदनकुमार भण्डारीले आयोग गठन गर्नुभएको थियो । पाँचौ महाधिवेशनमा तीन जनाबाट सुरु भएको सो आयोग १० महाधिवेशनमा पुग्दा २५ सदस्यीय पुगेको छ । सो आयोगका अध्यक्ष पार्टीको स्थायी कमिटीको सदस्य र आयोगका सदस्यहरू केन्द्रीय कमिटी सदस्य सरहको मान्यता हुन्छ । 

दसौं महाधिवेशनमा आयोगमा उपाध्यक्ष विष्णु पन्थी, सचिवमा शिव अधिकारी र सदस्यहरुमा क्रमशः इश्वरी प्रसाद खरेल, कोमल भट्टराई, खटक बहादुर (पिबी) गोले, खम्ब बहादुर खत्री, घनेन्द्रराज घिमिरे, धन बहादुर विश्वकर्मा, भिमलाल पौडेल, मस्त बहादुर गरन्जा, मिनराज कडेँल, राजकिशोर यादव, रेवतीरमण शर्मा, शंकर बहादुर कार्की खुल्लातर्फ निर्विरोध निर्वाचित हुनुभएको छ । 

त्यस्तै महिला तर्फ कल्पना लिम्बू, जसमाया गजमेर, पदमा जिसी श्रेष्ठ, बसुन्धरा रोकाय, मालती कुमारी लिम्बू, विजया धिताल, विमला के.सी, शान्ति पाख्रिन र सावित्री विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update