
काठमाडौँ, मंसिर १७। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हाल्नुभएको छ। चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो। उहासँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन, निर्वाचन र लेखा आयोगको कार्यकक्ष पनि तयार गरिएको छ।
चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा भीम रावललाई भारी मतान्तरले हराउँदै ओली दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। ओलीसँगै एक वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय कमिटी चयन भएको छ।
पदाधिकारीमा वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भए। उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्बाङ, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली चुनावबाट निर्वाचित भए भने उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल पराजित भए।
यस्तै, सचिवमा योगेश भट्टराई टोपबहादुर रायमाझी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट विजयी भए। सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका थिए।