
काठमाडौं, मंसिर २१ । बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले सोमबार बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीलाई अनुमोदन गरेको हो ।
सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि केही प्रश्न समेत गरेका थिए । प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा राजदूतका लागि योग्य देखिएकाले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वसम्मत रुपले अनुमोदन गरिएको समिति अधिकारीले जानकारी गराउनु भयो ।
समितिले आगामी दिनमा सरकारले गर्ने राजनीतिक नियुक्तिहरुमा संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्धान्त अनुसार गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । सोमबार संसदीय समितिको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले भारत, अमेरिका र बेलायतको राजदूत नियुक्ति गर्दा समानुपातिक समावेशी सिद्धान्त पालना नगरेको भन्दै सुनुवाइ रोक्न माग गरेपछि समितिले समानुपातिक समावेशीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएको हो ।
गत कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि क्रमश डा. शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेका राजदूतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।