
काठमाडौं, मंसिर २१ । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा झण्डै १५ सय प्रतिनिधि सहभागी हुने भएका छन्। काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने राष्ट्रिय सम्मेलनका लागि मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागबाट प्रतिनिधि चयन गर्न निर्देशन जारी गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिनु भएको छ ।
माओवादी केन्द्रले केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था गरिएकोमा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको छ। राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय भएको छ। ८० वटासम्म पालिकाहरु भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सो भन्दाबढी पालिकाहरु भएका प्रदेशहरुमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १÷१ जना सदस्य थप गर्ने निर्णय गरिएको छ।
केन्द्रीय पदाधिकारीबाट करिब ५ सय जना राष्ट्रिय सम्मेलनमा सहभागी हुन्छन्। केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट तीन तीन जनाका दरले ५० सय जना प्रतिनिधि हुने छन्। प्रत्येक प्रदेशले कम्तिमा १ जना घाइतेरअपाङ्ग कमरेडहरुलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय गरिएको छ।
राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने विधानको आवश्यक परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरिएको छ। पुस ११ गतेदेखि १३ सम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुन लागेको हो। सम्मेलनको लागि प्रचण्ड अहिले राजनीतिक दस्तावेज लेखनको तयारीमा जुटेका छन्। प्रचण्डले जारी गरेको परिपत्रमा भनिएको छ, ‘राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई प्रतिव्यक्ति दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। सबै प्रतिनिधिहरुले खाने, बस्ने लगायतका खर्चको व्यवस्थापन स्वयम् आफैं गर्नु पर्नेछ। आ–आफ्ना प्रतिनिधिहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको हुनेछ। ’