Kath Khabar
पूर्वराज्यमन्त्री सीता गुरुङद्धारा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, मंसिर २२ । कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उहाँले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । ‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ भन्ने मान्यताका साथ तथा पार्टीलाई अघि बढाउन आफनो उम्मेद्धारी रहेको उहाँको भनाई छ ।

सभापति शेरबहादुर देउवानिकट मानिने नेतृ गुरुङ हाल केन्द्रीय आदिबासी जनजाति विभागकी प्रमुख समेत  हुनुहुन्छ । कांग्रेसले यसपटक खस आर्य, महिला, मधेशी, आदिबासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था छ।

तेह्रथुमको आठ राईमा जन्मिएकी नेतृ गुरुङ नेविसंघको जिल्ला तहको नेतृत्वमा हुनुहुन्थ्यो । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव समेत भएर काम गर्नु भएको छ। पार्टीको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ १३ औं महाधिवेशनबाट आदिबासी जनजाति महिलातर्फ सर्वाधिक भोटसहित निर्वाचित नेतृ बन्नु भएको थियो ।

०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ ७ महिलाले चुनाव लडेका थिए। तीमध्ये गुरुङ प्रदेश १ कै एक्ली उम्मेदवार हुनुहुन्थ्यो। वाम गठबन्धनका कारण उनी तेह्रथुममा झिनो मतले मात्रै पराजित हुनु भएको थियो । दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ संविधान मस्यौदा समितिकी सदस्य तथा ०७४ को देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update