Kath Khabar
निर्वाचनमा ‘प्यानल’ बनाउन देउवा पक्षको बैठक बस्दै

काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाउनुभएको छ ।

बुधबार बिहान  उहाँको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसक्नुभएको छ । बुधबारको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।
 
यसैगरी बुधबार बिहान  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि महाधिवेशनका लागि आफ्नो समूहबाट सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्न लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सो समूहका नेताहरुले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरुसँग राय–परामर्श गरी एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update