काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पछिल्लो मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राख्नुभएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार १७४ मत गणना हुँदा सभापति देउवाले एक हजार नौ सय ९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले एक हजार पाँच सय ४२, प्रकाशमान सिंहले दुई सय ५७, विमलेन्द्र निधिले दुई सय एक र कल्याण गुरूङले १७ मत प्राप्त गर्नुभएको छ ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।