Kath Khabar
सभापति मतगणना देउवालाई २ हजार बढी मत

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पछिल्लो मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राख्नुभएको  छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार तीन सय ७६  मत गणना हुँदा सभापति देउवाले दुई हजार  ९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले एक हजार छ सय ४५, प्रकाशमान सिंहले तीन सय ५० , विमलेन्द्र निधिले दुई सय ३९  र कल्याण गुरूङले १९ मत प्राप्त गर्नुभएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।
 
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update