
काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सक्नु भएन ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नु भएको छ भने उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सक्नु भएन। कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २०मत प्राप्त गर्नु भयो । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।