Kath Khabar
तत्काल अक्सिजनको आपूर्ति र अस्पताल बेडको व्यवस्था गर्न काँग्रेस सहमहामन्त्री डा. महतको माग

काठमाडौं, वैशाख २५ । नेपाली काँग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न र कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गर्नु भएको छ । डा. महतले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न पनि काँग्रेसका तर्फबाट सरकारको ध्यानकर्षण गराउनु भएको हो । 

डा. महतले आज एक विज्ञप्ती जारी गर्दै यस्तो माग गर्नु भएको हो । डा. महतद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘कोभिड-१९ का विरामीहरु अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरु काठमाडौं उपत्यका लगायत देशभरिबाट आइरहेका छन् । अर्कोतिर काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ । यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड-१९ का बिरामीहरुले अक्सिजन नपाउने अवस्था सृजना भएको छ । यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेका छन् । काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड-१९ का बिरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन् ।’

सरकार कोभिड-१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतको आरोप छ । उहाँले भन्नु भएको छ, ‘सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ न अक्सिजनको समुचित आपूर्ति सकेको छ ।’

नेपाली कांग्रेस आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड-१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न पनि महतले माग गरेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update