Kath Khabar
कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि


काठमाडौं, पुस ३। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिनुभएको छ । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको छ ।

महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update