
काठमाडौं, पुस ४ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। हिजो गन्न बाँकी मत अघि बिहान पौने ११ बजेदेखि गन्न सुरु गरिएको हो । खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धी ९९ मध्ये खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने छन् । गएरातिसम्ममा २ हजार ३ सय ९३ मतपत्रको गणना सकिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । उहाँकाअनुसार बाँकी रहेको मत आज गणना गरेर सक्ने तयारी छ ।
अहिलेसम्मको मतगणनाअनुसार डाक्टर शशाङ्क कोइरालालाई सबैभन्दा धेरै मत प्राप्त भएको छ । अहिलेसम्म कोइरालाले १ हजार ९ सय ७१ मत पाउनु भएको छ । यस्तै, कांग्रेसको १४औँ महाधिवेशनको सबै परिणाम आउन समय लाग्ने भएको छ । यस अघि पुस ५ गते अर्थात भोलिसम्ममा आउने भनिए पनि अझै धेरै मत गन्न बाँकी रहेकाले चुनावको सबै परिणाम आउन समय लाग्ने निर्वाचन समितिले जनाएको हो । समितिकाअनुसार आउँदो बुधवारसम्ममा गणना सक्ने गरी तयारी भएको छ । गएको २४ गतेदेखि २७ गतेसम्म कांग्रेसको चौधौँ महाधिवेशन काठमाण्डौमा भएको थियो ।
सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि गएको सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।