Kath Khabar
माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

काठमाडौं, पुष ११। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा( एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको १२९औँ जन्मजयन्तीका अवसरमा महाधिवेशनको उद्घाटन गरिएको हो । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको तस्विरमा माल्यापर्ण गर्नुभयो । यस्तै, उद्घाटन सत्रमा महिला समूहको पञ्चेबाजा लगायतको प्रस्तुति पनि समावेश गरिएको छ ।
 
प्रज्ञा भवनको हल खचाखच रहेको छ भने परिसरमा डिस्प्लेमार्फत प्रत्यक्षरुपमा हेर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनस्थलमा जनयुद्धको स्मरण गर्ने तस्विर लगायतका सामग्री प्रदर्शन गरिएको छ । यस्तै कलाकारले माओवादीको आठौँ महाविधेशनका सन्दर्भमा तयार पारिएको गीतसमेत प्रस्तुत गरेका छन् ।

नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने मूल नारा तय गरेको छ । यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा परिवर्तन गरेको हो । महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता छ ।

महाधिवेशनमा प्रमुख पार्टीका शीर्ष नेता उपस्थिति
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आयोजनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुग्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेललगायत शीर्ष नेता महाधिवेशनस्थल पुग्नुभएको हो ।
 
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाही, नेकपा (माले)का महासचिव सिपी मैनाली र नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल पनि शुभकामना दिन कार्यक्रमस्थल पुग्नुभएको छ । नेताहरूबाट शुभकामना मन्तव्य दिनेक्रम जारी छ ।
 
माओवादीले आजदेखि प्रथम राष्ट्रिय सम्मेलनको तयारी गरेको तर शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवशेनका रूपमा परिणत गरेको थियो । यसअघि माओवादीले सम्मेलन भएकाले अतिथिका रूपमा कसैलाई नबोलाउने निर्णय गरेको थियो । सम्मेलनलाई महाधिवशेनमा रुपान्तरण गर्ने निर्णय गरेसँगै माओवादीले नेपालमा क्रियाशील राजनीतिक दललाई आमन्त्रण गरेको हो ।

महाधिवशेनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्घाटन गर्नुभयो । कार्यक्रमको सञ्चालन अर्थमन्त्री एवं माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले गर्नुभएको छ । उद्घाटन सत्रमा उपस्थितलाई स्थायी समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update