Kath Khabar
प्रधानमन्त्री ओलीले गुमाउनु भयो संसदको मत 

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वासको मत गुमाउनु भएको छ । यसैबीच विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त समेत हुनु भएको छ। 

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गर्नु भएको छ । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिनुभएको छ  । यस्तै तटस्थ १५ मत परेको सभामुखले जानकारी गराउनु भयो । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहनु भएको छ । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि हुनुहुन्थ्यो ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफैं दलको सबै मत पाउन सक्नु भएन । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update