
काठमाडौं, पुस २७। कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज आज मिति २०७८/९/२७ गते राती १२ बजे देखि अर्को सूचना नभएसम्म लागू हुनेगरी आदेश जारी गरेको छ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा/सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । खोप कार्ड मोबाइलमा फोटो भएपनि हुनेछ ।
यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । प्रशासन कार्यालयले सबै यात्रुरुलाई अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने आदेश जारी गरेको छ। साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ ।