Kath Khabar
काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा 

काठमाडौं, वैशाख २८ । काठमाडौं उपत्यकामा जेठ १३ गते सम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार प्रजिअहरुको बैठकले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका अन्य सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको बताउनु भयो । महामारीको चेन ब्रके गर्नका लागि निषेधाज्ञाको समय थप गरेको तथा कडाई गरेका छौं, उहाँँले भन्नु भयो, आदेश उल्लंघन नगर्न, अत्यावश्यक काम बिना सार्वजनिक स्थानमा ननिस्कन र सुरक्षित तवरले अर्थात् स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अपिल गर्दछौं ।

बैठकले बैशाख १६ गते देखि जारी निषेधाज्ञालाई दुई साता थप गर्ने निर्णय गरेको हो । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने निर्णय गरिएको छ । यस्ता कार्यक्रम गर्दा १० जना भन्दा सहभागी हुन पाइने छैन । अत्यावश्क सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्नको लागि आग्रह गरिएको छ । 

दैनिक उपभोग्य बस्तुको किनमेलको समय थप गर्दै बिहान ९ बजेबाट १० बजे पुयाइएको छ । यस्तै कालीमाटी लगायतका तरकारी तथा फलफूल बिक्री केन्द्रबाट थोक बिक्री गर्न पाइने छ भने  खुला बिक्रीमा भने रोक लगाइएको छ । यस्तै अत्यावश्यक सेवाबाहेकका गाडी पनि चलाउन रोक लगाइएको छ ।

तीनै जिल्लाका प्रजिअहरुले निषेधाज्ञा थप गर्ने विषयमा मुख्यसचिव शंकरदास वैरागी, गृहसचिव महेश्वर न्यौपाने लगायतका अधिकारीहरु सँग छलफल गरेका थिए । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेका थिए । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागे सँगै प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय थप गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update