
काठमाडौं, माघ १२। कोभिड-१९ रोकथामका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका साथ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरियो ।
त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो । भारतीय राजदूत क्वात्राले वीराङ्गना र मृतक सैनिकका निकटतम नातेदारलाई रु ६ करोड ३५ करोड नगद तथा कम्बल वितरणसहित सम्मान गर्नुभयो ।
मानवीय प्रयासका सबै क्षेत्रमा भारतले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५औँ उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’को एक अङ्गका रुपमा आजको कार्यक्रमको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म अन्य धेरै कार्यक्रम आयोजना गरिने भारतीय दूतावासले जनाएको छ ।
दूतावासका अनुसार आजादीका अमृत महोत्सव मनाउने सन्दर्भका साथै दुवै देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गरिने भएको छ । त्यसैगरी नेपालका विभिन्न सामाजिक सङ्घसंस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुलबस उपहारस्वरुप प्रदान गर्ने कार्यक्रम छ ।
भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पठाउनुभएको सन्देशमा उहाँको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, आर्थिक विकासमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि तथा प्रविधि र नवप्रवर्तनमा गरेको प्रभावकारी प्रगतिको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
त्यसैगरी परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई पठाउनुभएको सन्देशमा उहाँका साथै भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गर्नुभएको छ ।
(रासस)