Kath khabar
युरिक एसिडको बाथ के हो ?

 

काठमाडौं, फागुन ३। युरिक एसिड भनेको हाम्रो शरीरमा उत्पादन हुने एक किसिमको विकार तत्व हो । हामीले दिनहुँ सेवन गर्ने खाद्य पदार्थ पाचन हुने क्रममा शरीरका कोषिकाहरू परिवर्तन हुने क्रममा कोषिकाहरूमा रहेको न्युक्लिक एसिड निष्क्रिय भएर (डीएनए, आरएनए) बाट युरिक एसिड बन्दछ । शरीरले उत्पादन भएको युरिक एसिडलाई मृगौलाको सहयोगले पिसाब मार्फत विर्सजन गर्ने गर्दछ ।

यसरी युरिक एसिड बन्ने र बिर्सजन गर्ने कार्यको सन्तुलन बिग्रिएर गएमा रगतमा युरिक एसिडको मात्रा बढ्दछ । सोही युरिक एसिड शरीरको जोर्नीहरूमा मूलतः बूढी औँलाको जोर्नी, गोली गाँठो, घुँडा र पछि गएर शरीरका मझौला तथा साना जोर्नीहरुमा) Crystal को रुपमा गम्भिर सुजन हुने र रातो हुने अवस्थालाई नै युरिक एसिडको बाथ भनिन्छ। यसलाई अङ्ग्रेजीमा Gout or Gouty Arthritics भनिन्छ । वयस्कको शरीरमा प्रति १०० मिलि लिटर रगतमा ७ एमजी पुरुषमा र महिलामा ६.२ एमजीसम्म युरिक एसिडको मात्रा हुने भएकोलाई सामान्य नै मानिन्छ । महिलाहरूमा महिनावारी नरोकिन्जेलसम्म युरिक एसिडको बाथ हुने सम्भावना न्यून हुन्छ ।

यद्यपि युरिक एसिड बाथ भइसकेको र पटक पटक जोर्नीको सुजन हुने र दुख्ने भएको मानिसमा (२-३ पटक प्रत्यक बर्ष) यो युरिक एसिडको लेभललाई पनि धेरै भनिन्छ र यसलाई उपचार गरी सामान्य लेभलको आधा जति लेभलमा पुर्याउनु पर्दछ। युरिक एसिडको बाथ नभएको मानिसमा पनि शरीरमा युरिक एसिडको मात्रा जचाउँदाखेरि बढी देखिएतापनि उसलाई जोर्नीमा जमेर सुन्निने, र दुख्ने भएको छैन भने यस्तो अवस्थालाई युरिक एसिडको मात्रा बढी भएको अवस्था भनिन्छ । जसलाई खासै उपचार गर्नुपर्दैन । यसलाई आफ्नो खानपान मिलाएर, अम्मल, सुर्ति चुरोट सेवन हटाएर, सन्तुलित भोजनमा ध्यान दिएर र शरीरमा बोसोको मात्रा नियन्त्रण गरेर पनि युरिक एसिडको मात्रा घटाउन सकिन्छ ।

क्रमिक रुपमा जाँच गर्दापनि युरिक एसिडको मात्रा धेरै भएमा र जोर्नीको दुखाइ नभएपनि यसलाई घटाउनु पर्ने हालै गरिएको अनुसन्धानले देखाएको छ । किनकी युरिक एसिडको मात्रा रगतमा धेरै देखिए पिसाब बनाउने तन्तुमा समस्या, मुटुको समस्या गराउँछ । किड्नीको समस्या पहिला नै भइसकेको र डायलासिस गरिएको छ भने युरिक एसिड घटाउने औषधीको प्रयोग गर्नुपर्दछ ।

युरिक एसिडको बाथ कुन उमेरमा देखिन्छ र यसको लक्ष्यणहरु केके हुन्?
संसारमा लाखौं मानिसहरू युरिक एसिडको बाथबाट पीडित छन्, त्यसमध्ये आधाजति संख्यामा युरिक एसिड बाथले पटक पटक दुःख दिइरहेको पाइन्छ । पश्चिमी देशको तथ्याङ्कको आधारमा भन्नु पर्दा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिलाहरूमा कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ। गाउटले धेरैजसो बिरामीमा खुट्टाको बुढीऔंला, गोलीगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग बढ्दै गएपछि भने घुँडा तथा हातका जोर्नीहरूमा युरिक एसिड मात्रा जमेर विग्रने र जोर्नी खिइने समस्या हुन्छ ।

के खाँदा र नखादा युरिक एसिडको बाथ बढ्छ?
लगातार रक्सीको सेवन, उच्च फ्रुक्र्टाइज (गुलियो) सेवनले गर्दा पनि युरिक एसिड बढेको पाइन्छ । हाम्रो समाजमा युरिक एसिडको बाथद्वारा ग्रसित विरामीहरुले जहिले पनि आफ्नो आहार-विहार र खाना खाने तरिकालाई दोष दिने गरेको पनि पाईन्छ । युरिक एसिडको बाथ हुनुमा आहार–विहार र खानपानको भूमिका एक चौथाई मात्रै हुन्छ। अर्थात् तिन चौथाई जति भूमिका त हाम्रो शरिर आफैले उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर परेको हुन्छ ।

यस्तो पनि भनिन्छ की प्रोटिनयुक्त आहार सेवन गर्नाले १ सय मि.लि. रगतमा बढीमा १ मिलिग्राम युरिक एसिडको मात्रा बढ्छ। युरिक एसिडजन्य प्रोटिनयुक्त खानाको बावजुद अन्य कारणले गर्दा पनि युरिक एसिड उत्पादन भएको हुन्छ । अर्थात् वंशाणुगत कारण, शारिरीक मोटोपन, लामो अवधि भोको बस्ने बानी, मृगौलाको कार्य विफलता, मृगौलाको पत्थरी, मुटु सम्बन्धि रोगहरु, मधुमेह आदि जस्ता कारणहरुले र कुनै प्रकारका दिर्घरोगहरु साथै केही किसिमका औषधिहरुको प्रयोगको कारण (जस्तै: लगातार थायजाइड ग्रुपको औषधी, जुन उच्च रक्तचापमा प्रयोग गरिन्छ ) पनि कतिपय व्यक्तिको रगतमा युरिक एसिड बढेको हुन्छ ।

युरिक एसिडको बाथको उपचार कसरी ?    
अन्य किसिमको बाथरोग भन्दा युरिक एसिडको बाथलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यस्तो बाथलाई व्यवस्थापन गर्नको लागि विशेषज्ञ डाक्टर र बिरामीबिच उचित छलफल, परामर्श र सहकार्य अनिवार्य हुन्छ। अन्यथा विरामीहरुले डाक्टरको परामर्श बिना विविध प्रकारका औषधी छोटो समयको लागि सेवन गर्दा रोग झन्झन् जटिल हुँदै जाने सम्भावना रहन्छ ।

युरिक एसिडको बाथद्वारा पिडीत विरामीहरु अस्पताल वा डाक्टरको क्लिनिकमा उपचारार्थ उपस्थित हुँदा रोगको सुरुवात कहिले र कसरी भयो, कति पटक भयो र अन्तिमपल्ट कहिले बढ्यो भनेर सोधपुछ गरिन्छ । यस्ता विरामीहरुले प्रायजसो एक्कासी दुखाई बढेर त्यस विरुद्ध औषधी सेवन गरेको वा दुखाई कम गर्ने औषधीको सुई प्रयोग गरेको कुरा बताउने गरेको पाईन्छ । यसरी एक्कासि रोग बढ्ने वा बल्झिने कुरामा सामान्यतया खानपान कै भुमिका रहेको पाईन्छ । त्यसैले त्यतिखेर खानपान र आहार-विहारमा परिवर्तन गर्न परामर्श दिईन्छ ।

त्यतिखेर युरिक एसिड घटाउने वा बढाउने खाद्यपदार्थ, तत्काल प्रयोग गरिने औषधी र त्यसको सेवन मात्रा लगायत धेरै प्रोटिनयुक्त खानेकुरा सेवनको परहेजमा रहँदाखेरी सामान्यतया घट्नसक्ने युरिक एसिडको मात्राबारे पनि डाक्टरसँग जानकारी लिनुपर्दछ । अर्को कुरा आहार-विहार र दैनिक जिवनयापन पद्धतिमा परिमार्जन गर्ने वित्तिकै युरिक एसिडको मात्रा घटिहाल्छ भन्ने कुरा पनि कतिपय विरामीहरुमा लागु नहुन सक्छ । किनकी वंशाणुगत लगायत अन्य कारणले पनि युरिक एसिड बढाएको हुनसक्छ । त्यसैले विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उचित प्रकारको औषधी प्रयोग गर्ने जस्तै anti-inflammatory drugs -उचित प्रकारको नदुख्ने औषधी_ Uric Acid Lowering Agent (युरिक एसिड घटाउने औषधी) प्रयोग गर्न जरुरी देखिन्छ ।

जे होस् आहार विहार खानपानमा सन्तुलन व्यायाम गरेमा, प्रसस्त मात्रामा तरलपदार्थ र पानी सेवन गर्ने बानी बसालेमा, शारिरिक तौल नियन्त्रण गर्ने, नियमित शारिरिक ब्यायाम गर्ने र शंका लाग्नासाथ डाक्टरको परामर्श लिने बानी बसालेमा युरिक एसिडको बाथलाई व्यवस्थापन गरेर सहजै छुट्कारा पाउन सकिन्छ ।

-डाक्टर केशबराज सिग्देल

(डाक्टर केशबराज सिग्देल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र आरोग्य स्वास्थ्य सदन, नेपाल बाथ रोग उपचार केन्द्र जावलाखेलमा कार्यरत हुनुहुन्छ )

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update