Kath Khabar
एमसिसी संसदमा पेस गर्ने सत्तारूढ गठबन्धनको सहमति

काठमाडौं, फागुन ८। सत्तारूढ गठबन्धनका बीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० सम्बन्धी सम्झौता सङ्घीय संसदमा टेबल गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले सम्झौता टेबल गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

राजनीतिक दलहरुका बीचमा एमसिसी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने बारेमा विवाद रहँदै आएको थियो । लामो छलफल र सकारात्मक प्रयासपछि गरिबी निवारण र भौतिक पूर्वाधारको विकासका लागि प्राप्त भएको सहयोगका सम्बन्धमा दलहरुबीच साझा मत बनेको हो । शुक्रबारको बैठकले आजसम्म यस विषयमा सहमति खोज्न दलहरु सहमत भएका थिए । लामो विवादका कारण आयोजना कार्यान्वयन हुने समयसमेत पर सर्दै आएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले सत्तारूढ गठबन्धनले एक मतका साथ एमसिसी टेबल गर्ने सहमति गरेको जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध गरिरहेको छ नि भन्ने प्रश्नमा मन्त्री कार्कीले भन्नुभयो, “उहाँहरुले नै यो सम्झौता संसद्मा लैजानुभएको हो ।

संसद्को अवरोध कायम राख्नु हुन्छ कि खोल्नुहुन्छ, अब यो विषय पनि उहाँहरुकै हो, उहाँहरुलाई नै सोध्नुहोस् ।” जनताको सार्वभौम जनप्रतिनिमूलक थलो संसद्मा नै यस विषयमा अब छलफल हुने र निष्कर्षसमेत निस्कने उहाँको भनाइ थियो ।  

दातृ राष्ट्र अमेरिकाले यही फागुन १६ गतेभित्र एमसिसी पारित गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गर्दै आएको छ। करिब रु ५५ अर्ब अमेरिकी अनुदानबाट ४०० केभी क्षमताका ३१२ किलोमिटर प्रसारण लाइन र सडक पूर्वाधार निर्माण हुनेछ । काम सुरु भएको पाँच वर्षभित्र सो परियोजना सम्पन्न गर्नुपर्ने समयसीमा छ ।
 

(रासस)

 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update