Kath Khabar
आज पनि एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन

काठमाडौं, फागुन १२। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू माओवादी र एकीकृत समाजवादीले आफ्ना भातृ संगठनहरुलाई सडकमा उताँर्दै आएका छन् । आज पनि माओवादी र एकीकृत समाजवादीले एमसीसीविरुद्ध नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

आजको विरोधमा विभिन्न स्वतन्त्र फोरममा उपस्थित भएका सर्वसाधारणहरु पनि एमसीसीविरुद्ध सडकमा उत्रिएको देखिएको छ । नयाँ बानेश्वर क्षेत्रको सडक अवरुद्ध रहेको छ । तिनकुनेबाट नयाँबानेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ। भद्रकाली-सिंहदरबार-माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।

अघिल्ला दिनहरुभन्दा एमसीसीविरुद्ध सडकमा भएका प्रर्दशनहरुमा जसरी सुरक्षाकर्मी तथा प्रदर्शनकारीहरुबीच दोहोरो झडप भएको थियो सो अवस्थालाई मध्यनजर गर्दै आजको सुरक्षा व्यवस्था कडा पारिएको छ। नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । अघिल्ला प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोलीसमेत चलाएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए ।

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update