काठमाडौं, फागुन १३। अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । हिजोका लागि बोलाइएको बैठक दलहरुबीच सहमति नभएपछि सरकारको आग्रहमा सूचना टाँस गरी स्थगित गरिएको थियो । उक्त बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।
आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमसीसीको विपक्षमा छन् ।
हिजो प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । उहाँहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । सो सम्बन्धमा सरकारले कसरी वातावरण बनाउने भन्ने सन्दर्भमा सकारात्मक छलफल भएको र आज पुनः बस्ने गरी बैठक सम्पन्न भएको महामन्त्री थापाले जानकारी दिनुभयो ।