Kath Khabar
कांग्रेसको नेतृत्व वैकल्पिक सरकार निर्माणमा चुक्दा राजनीतिमा ओली चतुर प्रमाणित

काठमाडौं, जेठ २ । प्रधानमन्त्री अल्पमतमा परेका हुनाले राष्ट्रपतिबाट वैकल्पिक सरकारका लागि छिटो भन्दा छिटो आह्वान गर्न भनी विपक्षी मोर्चा नेपाली कांग्रसेका सभापति शेरहादुर देउवा, माओावदीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाको एउटा खेमा उपेन्द्र यादवले संसदमा मात्र भन्नु भएन राष्ट्रपतिलाई भेटेर नै जोडदार माग गर्नुृभएको थियो ।

राष्ट्रपतिबाट पनि प्रधानमन्त्रीको आफुमाथि विश्वास छ भन्ने प्रस्ताव संसदबाट अस्वीकृत भएको जानकारी प्राप्त हुना साथ त्यस्तो आह्वान पनि भयो । अर्को सरकार बनाउने यो समयपनि पर्याप्त नै थियो सोमबारदेखि बिहिबारसम्म, पुरै चार दिन ।

तर विपक्षीले सरकार बनाउन नै सकेन । प्रधानमन्त्री विपक्षीभन्दा भारी परेको अवस्था देखियो । अन्तिम समयमा विपक्ष वैकल्पिक सरकारको दावी गर्न नै गएन । त्यसपछि विपक्षी मोर्चाकै एकनेता जो सरकार फेर्न लागि परेका थिए, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइबाट टिप्पणी आयो- वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भयो ।

बिहिबार साँझ नै ट्वीट गर्दै अध्यक्ष भट्टराईबाट ‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ, सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्, अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं’ भनी आह्वान भयो ।

ओलीबारे अरु भनाइ विपक्षीका आरोप होलान, यति बेलाको नेपाली राजनीतिमा ओली पुनः अरुभन्दा धेरै चतुर सावित भएका चाहिँ सत्य हो । अन्तिम दिन गठबन्धन सरकारका लागि बहुमत पुर्‍याएर साँझ ९ बजेभित्रै दाबी प्रस्तुत गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा दिनभर व्यस्त देखिएका थिए । तर सबैको प्रतीक्षा एमालेका झलनाथ खनाल र माधवकुमार नेपालको निर्णय के हुन्छ भन्नेमा थियो ।

एमालेको सरकारकोे विकल्पका लागि तयार बनाइएका टेको भने एमालेकै सांसदहरु थिए ।  झलनाथ खनाल र माधवकुमार नेपालको निर्णय समग्र विपक्षीको वैकल्पिक सरकार निर्माणको  प्रमुख शक्ति बन्नु विपक्षीको कमजोरी थियो । जब एमालेको यो (खनाल-नेपाल) पक्ष प्रधानमन्त्री ओलीसँगकै सहकार्यका लागि अघि बढ्यो, त्यसपछि यो चार दिनसम्मको विपक्षी अभ्यासनै  अघि बढ्न सकेन । यही बीचमा खनाल-नेपाल पक्षका सांसदले राजीनामा नदिएपछि र अझ उतातिर सहकार्य भएको समाचार आएपछि विपक्षी मोर्चाका नेता देउवा सरकारको दाबी लिएर शीतल निवास नजाने निचोडमा पुग्नु स्वाभाविक थियो ।

देउवालाई यो दिन बिहानै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू वैकल्पिक सरकारको पक्षमा नरहेको प्रस्ट बताइसकेको आवस्था आफैमा यस्तो सरकार नबन्ने सँकेत छदै थियो । देउवा र दाहालको यो मोर्चाको त्यसदिन बिहानसम्म-एमालेको खनाल-नेपाल पक्षका सांसदको सामूहिक राजीनामा आउँछ भन्ने बुझाई र विश्वास थियो । यो भनेको आफनोअनुकूलको मात्रै कामना भनेपनि हुन्छ । यो राजीनामाले त्यो पक्षलाई  राजनीतिमा कुन ठाउँमा पुर्‍याउला भन्ने प्रश्न छँदे थियो । यसले राजीनामा दिने भनिएको पक्षलाई उनीहरुबीचमा सहकार्यतर्फ डोर्‍याउथ्यो । पछि भयो पनि त्यस्तै ।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले एमालेको खनाल-नेपाल पक्ष पछि हटेको र जसपासमेत विभाजित भएको अवस्थामा बहुमत पुग्न नसकेको अवस्था बताइयो । यसै दिन दिउँसो नै देउवाले पदाधिकारी बैठकमा ठाकुर र खनाल-नेपाल पक्षले सहयोग गर्ने अवस्था नभएपछि दाबी नगर्ने निष्कर्ष सुनाइसकेको अवस्था थियो । वैकल्पिक सरकारका लागि प्रतिकुलता धेरै थिए होलान् । तर, बाहिरबाट हेरिँदा अनुकुलता नै बढी देखिन्छन्, जसबाट परिणाम आफ्ना पक्षमा पार्न नसक्नु नेतृत्वको कमजोरी हो ।

विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको यो घटनामा इतिहासले उनका कमजोरी मान्छ खासगरी नेपाली कांग्रेसका सन्दर्भमा । प्रधानमन्त्री ओलीका विरुद्ध पुस ५ देखिनै योवात्योरुपमा विपक्ष गठवन्धन बनेको थियो । त्यो विघटनलाई सरकार बाहेक सबैले विरोध नै गरेका हुन ।

विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास सुरु भएको थियो । आफैले संसदको विषेश अधिवेशन बोलाए प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि विपक्षीमोर्चा नेपाली काँग्रेस माओवादी केन्द्र विकल्प दिन असफल हुनु आफैमा सामान्य कुरा होइन ।

विज्ञहरुका अनुसार फागुन ११ पछि नेपाली कांग्रेसले जस्तो खालको जोखाना खेलाइरह्यो, माओवादीले अदालतको फैसलापछि पनि जतिलामो समयसम्म समर्थन फिर्ता लिएन ती आफैमा सरकारका पक्षमा अग्राख पलाएका क्षणहरु थिए । यतिबेला विपक्षीको भुमिका जोसुकैका नजरमा पनि ओलीको विकल्प दिने निर्विकल्प एजेण्डा नै बनाउन सकिएन । प्रतिकुलतालाई अनुकुल बनाउनु त पर जाओस्  उपलव्ध अनुकुलताको पनि भरपुर उपयोग भएन ।

विपक्षीको नेतृत्व गरेको नेपाली काग्रेसमा त पछिल्ला दिनमा त आफैभित्रको क्षमतासमेत प्रयोग नभएको भन्ने आरोप छ सभापति  देउवामाथि । यो पटक सरकार निर्माणमा देउवा पटक्कै कुटनीतिमा लागेको नदेखिएको बुझाइ छ धेरैको । आफ्नै पार्टी भित्रको विपक्षीलाईपनि चलाइएन । जस्तो बैकल्पिक सरकार निर्माणका सन्दर्भमा विपक्षी दलको नेताको हेसियतबाट सर्वदलीय बैठक गर्दा  पनि आफनो दलका बरिष्ठ नेतालाई जानकारी समेत नगराएका भन्ने समाचारहरु आए ।

पहिले प्रधानमन्त्री ओली विरुद्ध गत फागुन ११ गते यता अविश्वासको प्रस्ताव ल्याउन विपक्षी दलबीच छलफल चलिरहँदा माहौल यता थियो । त्यसबेला देउवाबाट तत्कालीन नेकपाको आधिकारिकता खोज्ने काम भयो अर्थात अलमलको काम । अर्को दल जसपासंग पनि त्यसबेला वार्ता भएन । हुँदै जाँदा उसले त कित्ता नै परिवर्तन गरिदियो । अहिले विपक्ष यसरी संकुचित हुनुपर्ने अवस्थाको एउटा कारण यो पनि मानिएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update