Kath Khabar
नेवि संघ सभापतिमा शेर्पा, शाही र थापा, महामन्त्रीमा थेबे र सापकोटाको दावी

काठमाडौं, चैत २। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै भ्रातृ संगठनलाई पूर्णता दिने तयारी गर्नुभएको छ । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनको तदर्थ समिति गठन गर्ने तयारीमा देउवा रहनुभएको छ ।

कांग्रेसको नेता उत्पादन गर्ने नर्सरीकोरुपमा रहेको नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयन गर्नका लागि सभापति देउवाले आफू निकट नेताहरूसँग छलफल गरिरहनुभएको छ । विधानअनुसार ३२ वर्षको उमेर हदबन्दीभित्रै नयाँ नेतृत्व चयन गर्ने कांग्रेसको तयारी छ । अधिकांश पदाधिकारी पनि नयाँ व्यवस्था अनुसारै नेवि संघको तदर्थ समिति गठन गर्नुपर्छ भन्ने पक्षमा रहेका छन् ।

यी हुन् सभापतिका दाबेदार
कांग्रेसका एक पदाधिकारीले नेवि संघमा नयाँ पुस्तालाई नेतृत्व दिने तयारी भइरहेको बताउनुभएको छ । उहाँका अनुसार नेपाल विद्यार्थी संघको सभापतिमा दुजाङ शेर्पा, प्रेम शाही र मनिष थापामध्ये एकलाई जिम्मेवारी दिने तयारी भइरहेको छ ।

सभापतिका दाबेदार शेर्पा कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि हुन् । नेवि संघको ११ औं महाधिवेशनमा सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेका शेर्पाले पार्टी नेतृत्व तथा पदाधिकारीलाई भेटेर संगठनको नेतृत्व गर्न आफू तयार रहेको बताउँदै आउनुभएको छ । शाही नेवि संघका निवर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ पशुपति क्याम्पसका पूर्व इकाई सचिव हुनुहुन्छ । कुशल संगठक शाहीले नेवि संघको सभापति बन्नका लागि लबिङ गरिरहनुभएको छ । थापाले अमेरिकाबाट उच्च शिक्षा हासिल गर्नुभएको छ । नेवि संघमा काम नगरे पनि उहाँले पदाधिकारीमा दावी गरिरहनुभएको छ ।

उपसभापतिमा एलिजा ढकाल, सुशील भट्ट, टकेन्द्र राई, मीरा कटुवाल, पूजा फुयाल लगायतले दावी गर्नुभएको छ । ढकाल र भट्ट र कटुवाल नेवि संघका पूर्व केन्द्रीय सदस्य हुन् । राई नेवि संघ सुनसरी जिल्ला सचिव हुनुहुन्छ ।

महामन्त्रीमा मुख्य दुई दाबेदार
त्यसैगरी, महामन्त्रीमा मुख्य दुई युवा नेताले दावी गर्नुभएको छ । संस्थापन पक्ष युवा नेता राज थेबे र उषा सापकोटालाई महामन्त्रीको जिम्मेवारी दिने कांग्रेसको तयारी छ ।

थेबे केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। उहाँ झापाको धुलाबारी क्याम्पस पूर्व इकाई सभापति तथा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-२ का पूर्व पार्टी सचिव पनि हुनुहुन्छ । सापकोटा बागलुङबाट प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । नेवि संघको पदाधिकारीका आकांक्षीहरूमा आकाश उप्रेती, गीता गुरुङ, पुनम भट्ट, पदम भट्ट, भुपेन्द्र थेबे, सञ्जीव ढकाल, प्रेमिका राना मगर, सुशान्त आचार्य लगायत रहनुभएको छ ।

नेवि संघका सभापति राजीव ढुङ्गाना नेपाली कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएपछि संगठनको तदर्थ समिति गठनको तयारी भइरहेको छ ।


 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update