Kath Khabar
मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमा : मन्त्री चौधरी

   काठमाडौं, चैत्र १८। खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताउनुभएको छ । हिजो हेलम्बु-१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुग्नुभएका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभयो । अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ ।

उहाँले प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौँ झार्ने सरकारी लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले १७ नम्बरको डेढ किलोमिटर टनेल सफा गर्न, २१ नम्बर गेट खोल्न र ९ नम्बर गेट झार्न बाँकी रहेको उल्लेख गर्दै ९ नम्बर गेट भोलि झार्ने प्रयास गरिने बताउनुभयो । यसपछि मुख्य काम सकिने उहाँको भनाइ छ ।

सुरुङ सफा गर्ने क्रममा सुरुङभित्र सोचेभन्दा बढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भइरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्ट्र्याक्टर एस के कन्स्ट्रक्सनका एक सञ्चालक समीर तामाङले जानकारी दिनुभयो । उहाँले लेदो सफा गरेको एक हप्ताजतिमै मेलम्चीको पानी काठमाडौँ पुर्‍याउन सकिने उल्लेख गर्दै सोहीअनुसार काम गरिरहेको बताउनुभयो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार पानी पठाउन सदैव तयार रहेको बताउँदै मुहान क्षेत्रको गाउँपालिकालाई सरकारले काठमाडौँ पानी पुर्‍याएर बिक्री गर्न थालेपछि त्यसको नाफाको प्रतिशत दिन माग गर्नुभयो । शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन रु पाँच लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गर्नुभयो ।

काठमाडौँ आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्खाको बाढीले क्षति पु¥याएको थियो । त्यसपछि यो आयोजना अहिलेसम्म नै ठप्प रहेको छ। अनुगमनमा मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

मन्त्री चौधरीले आजै हेलम्बु गाउँपालिका-१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा क्षमा पूजा गर्नुभयो । उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो । 

 (रासस) 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update