
काठमाडौं, चैत्र १८। सरकारले गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार उपलब्ध गराउने भएको छ ।
मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने कार्यविधि २०७८’ स्वीकृत भएसँगै गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार पाउने भएका हुन् ।
बिरामीहरूको औषधि उपचार लामो समयसँग गर्नु पर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचार बापत खर्च उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ ।
कार्यविधिमा ‘मिर्गौला प्रत्यारोपण गराएका, डायलासिस गराईरहेका, क्यान्सर रोग पहिचान भई उपचारपछि निको भइरहेका व्यक्ति बाहेकका क्यान्सर रोग (क्यान्सर पहिचान भई उपचारपछि निको भइसकेका तर चिकित्सकले तीन तीन महिनाभित्र निरन्तर निगरानी क्लोज फलोअपमा राखेका व्यक्ति यस लाभग्राहीको सूची भित्रै पर्ने) र मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपांङग परिचय पत्र बाहक) व्यक्तिलाई लक्षित समूहभित्र राखेको छ ।
कार्यविधिमा सरकारले तोकेको मासिक पाँच हजार रुपियाँका दरले तीन तीन महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा रकम जम्मा गर्न आदेश दिएको छ । सरकारी र विदेशी संस्थामा कार्यरत वा त्यहाँबाट सेवानिवृत्त भई पेन्सनको सुविधा पाइरहेकाले भत्ता नपाउने बताइएको छ। ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता र अपाङ्ग भत्तालगायत अन्य सामाजिक सुरक्षा भत्ता पाइरहेकाले पनि यो सुविधा पाउने छैनन् ।