
काठमाडौं, चैत १९। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणपूर्व प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षलाई वास्ता नगर्नुभएको भन्ने आरोप असत्य भएको बताउनुभएको छ ।
शनिवार बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्धारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“प्रधानमन्त्रीजीले कुराकानी पनि गर्नुभएन । छलफलमा बोलाउनुभएन । फोनसमेत गर्नुभएन । वास्तै गर्नुभएन भन्ने जुन प्रचार एमाले अध्यक्ष ओलीका निकटस्थहरूबाट भैरहेको छ । त्यो सरासर असत्य हो । झुट हो ।“, नेपाली कांग्रेसका प्रवक्ता डा. महतले भन्नुभयो,“ प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुभएको हो । उहाँले म बाहिर हुन्छु ।आउन सक्दिन भन्नुभयो ।आफू आउन नसक्ने । आँउदिन भन्ने अनि अहिले आरोप लगाउने ?“
पूर्वपरराष्ट्र मन्त्री डा.महतले नेपाली कांग्रेसले सधै सत्य बोल्ने र बोले अनुसार काम गर्ने गरेको पनि बताउनुभयो । उहाँले नेपाली कांग्रेसले देशको हित र देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“हामी सत्तामा हुँदा पनि नहुँदा पनि आफ्नो बोली, बचन र अडान फेर्दैनौ । “उहाँले आफू परराष्ट्रमन्त्री हुँदा पनि र नहुँदा पनि विदेशी मित्रराष्ट्रका प्रतिनिधिहरूसँग नेपालका हित र चासोका विषय स्पष्ट राख्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “ पूर्वप्रधानमन्त्री ओलीजी जनतातिर फर्केर राष्ट्रियताका कुरा गर्नुहुन्छ तर सम्बन्धित ठाँउमा कुरा राख्न सक्नुहुन्न। उहाँले राख्दै राख्नुभएन ।“
कांग्रेस प्रवक्ता महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरु उठाउने दावी गर्दै भन्नुभयो, “उहाँले सबै कुरा उठाउनु हुन्छ । तत्काल भोलि नै टुंगो लाग्छ भन्ने होइन । तर विषय उठाउनु हुन्छ । “उहाँले नेपाल र भारतका बीचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको पनि दावी गर्नुभयो ।
कांग्रेस प्रवक्ता महतले एमसीसीको प्रसङ्ग निकाल्दै कम्युनिष्ट पार्टीहरूमा जे बिषयलाई पनि राष्ट्रियतासँग जोडेर जनता भड्काउने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका सरकारहरुले समेत अगाडि बढाएको एमसीसी अनुदान सहयोग संझौताका बारेमा सो संझौतामा उल्लेख नै नभएका विषय उठाएर जनतालाई दिग्भ्रमित बनाउन खोजिएपछि नेपाली कांग्रेसले सत्य बोल्न विवस भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले बी.पी.कोइरालाको जब सत्यको मुख बन्द हुन्छ, झूटोका थुतुनो चल्छ भन्ने भनाई उद्घृत गर्दै भन्नुभयो,“यो अनुदान सहयोग हो । यसको साँबा ब्याज तिर्न पर्दैन ।यो नेपालको माग अनुसार आएको हो । यो विद्युत र सडक निर्माणका तोकिएका परियोजना बाहिर खर्च गर्न पाइदैन। यसको सञ्चालन नेपालको अर्थसचिव अध्यक्ष रहने एमसीएबाट हुन्छ। प्रतिस्पर्धामा ठेक्का लाग्छ । परियोजनाहरु पूरा भएपछि त्यसका भौतिक सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण हुन्छ । यथार्थ बाहिर आएपछि विरोध गर्नेहरु पनि समर्थनमा आए र संसदबाट पारित भयो ।“उहाँले आफूले गरेका कामका बारेमा सार्वजनिक रुपमा प्रचार गर्न काग्रेसले नसकेकोे पनि बताउनुभयो ।
खेलकुदलाई प्राथमिकता
कांग्रेस प्रवक्ता डा.महतले खेलकूदमा युवाहरुको मोह रहेको र यसका विधा पनि ब्यापक भएकोले यसको विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो। “यसमा थोरै लगानी गरेपनि धेरै प्रतिफल आउछ । त्यसैले यसलाई प्राथमिकतामा राख्नुपर्दछ ।“, उहाँले भन्नुभयो, “यो कुरा म नेतृत्वसामु पनि राख्नेछु ।“
त्यागी, सादा र सरल व्यक्तित्वका धनी नेपाली कांग्रेसका संस्थापक नेता, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानलाई पुनस्मरण गराउदै कांग्रेसको इतिहासलाई वर्तमान युवा पुस्तासंग जोड्न खेलकूद प्रतियोगिता आयोजना गरेको आयोजकलाई धन्यवाद पनि दिनुभएको थियो । उहाँले म्याराथनका विजयी, प्रतिस्पर्धी र सहभागी सबैलाई बधाई पनि दिनुभएको थियो ।