Kath Khabar
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जनप्रतिनिधिद्वारा सवारी साधन फिर्ता


      दमौली, वैशाख ५। तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गर्नुभएको हो । 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गर्नुभएको हो । उहाँहरु दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुनुहुन्छ ।
शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गर्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गर्नुभयो । 

उहाँले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस शुक्लागण्डकीले उहाँसहित दश जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । 
उहाँले अब नगरप्रमुखको उम्मेदवार नभए पनि सरकारी सवारी प्रयोग नगर्ने बताउनुभयो । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उहाँले बताउनुभयो । निर्वाचन नजिकिएकाले नगरपालिकाको सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको भन्दै उहाँले अब मेयरको उम्मेदवार भए पनि नभए पनि सवारीको सुविधा नलिने प्रष्ट पार्नुभयो । 

यसैगरी भीमाद–९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गर्नुभएको छ । उहाँले आफूले प्रयोग आएको ग१ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गर्नुभएको हो । 

निर्वाचनका बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उहाँले बताउनुभयो । वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेर फिर्ता गरेको उहाँले बताउनुभयो । 

यसैगरी शुक्लागण्डकीका प्रवक्ता खिमबहादुर कुमालले आफूले चढ्दै आएको ग१ब ७४६ नम्बरको मोटरसाइकल नगरपालिकालाई फिर्ता गर्नुभएको छ । अब चुनाव केन्द्रित गतिविधिमा लाग्नुपर्ने भएकाले सरकारी सेवा सुविधाको दुरुपयोग गर्न नहुने बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update