ललितपुर, वैशाख १२। नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य (आस्था) ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका छन् । आज मनोनयन गर्ने दिन बिहान तीनैजना नेताको निवासमा पुगेर आशीर्वाद लिएका थिए ।
आशीर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वस्थताको कारण किस्ट अस्पताल भर्ना पछि हिजोमात्र डिस्चार्ज हुनुभएका जोशीले एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यलाई आशीर्वाद दिनुभएको थियो । त्यस अवसरमा शताब्दी पुरुष जोशीले दुवैजनालाई विजयीको लागि आशीर्वाद दिनुभएको थियो ।
लगत्तै शङ्खमूलस्थित दिद्धिलाल सिंहको निवासमा पुग्नुभएका दुवैजना उम्मेदवारलाई आशीर्वाद दिदै सिंहले भन्नुभयो-ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईँजस्ता उम्मेदवारको आवश्यक छ । यो निर्वाचनमा दुवैजनाको विजयी हुने विश्वास सहित आर्शिवार्द दिन्छु भन्नुभयो । ८६ वर्षे एमाले नेता सिंहले जनताको आवश्यकता अनुसार काम गर्नको लागि एमालेको विजय आवश्यक रहेको बताउनुभयो ।
त्यस लगत्तै पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गर्नुभएको थियो । त्यस क्रममा उहाँले विजयको शुभकामना दिनुभएको थियो । ८४ वर्षीया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेदवार विजय भएको हेर्न चाहेको बताउनुभयो ।
भेटपछि प्रतिक्रिया दिदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले इतिहास पुरुष जोशी र दुई वामपन्थी नेताको आशीर्वादबाट आफूहरूको विजय सुनिश्चित रहेको बताउनुभयो । उहाँहरू दुवैजनाले केहीबेरमा महानगरको निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् ।