Kath Khabar
नेता गुरुङले भन्नुभयो, अर्थतन्त्रमा देखा परेका समस्याको मुख्य दोषी ओली सरकार र गभर्नर


         काठमाडौं, वैशाख १३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देव प्रसाद गुरुङले अहिलेको आर्थिक संकट आउनुमा अघिल्लो सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताउनुभएको छ । उहाँले नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वका सरकारले लिएका आर्थिक नीति र नियमन गर्ने नेपाल राष्ट्र बैंक कै कमजोरीका कारण अर्थतन्त्रमा समस्या देखा परेको बताउनुभयो ।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारवाहीको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो । उहाँले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको समेत बताउनुभयो । उहाँले अहिले देखा परेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएको बताउनुभयो ।

“पार्टी पनि सरकारले गरेको पक्षमा छ, सरकारले गरेको निर्णयको पार्टीको समर्थन छ । कारवाही गर्ने समय र परिस्थितिबारे त सरकारले अवश्य पनि सोचेर गरेको होला, त्यो सरकारले मूल्यांकन गरेको होला” गुरुङले भन्नुभयो । उहाँले वित्तिय एकाधिकार दलाल पूँजीवादका अर्थतन्त्रमा समस्या देखा परेको बताउनुभयो ।

खुला बजार अर्थतन्त्र, निजिकरण, उदारिकरण चिन्ताले कृषिलगायतका राष्ट्रिय उद्योग विस्थापन हुनुको साटो वित्तिय एकाधिकार पुँजीमा भर पर्नुपर्ने अवस्थाका देशमा सिर्जना भएको बताउँदै गुरुङले परनिर्भरता बढ्दै गएको बताउनुभयो । उहाँले परनिर्भरतलाई न्यूनिकरण गर्दै आत्मनिर्भर बनाउने राज्यको भूमिका हुनुपर्ने तर त्यो विगतमा नभएको बताउनुभयो ।

“राज्यको भूमिका परनिर्भरतालाई न्यूनिकरण गर्दागर्दै कसरी आत्मनिर्भरताको दिशामा लैजाने हुनुपर्ने हो तर, विगत साढे तीन वर्षसम्म तत्कालीन केपी ओली नेतृत्वको सरकारको भिजन र सोच त्यो दिशामा जान सकेन । झन् परनिर्भरताको पराकाष्ठा पुग्यो । यही बेला विश्वमा कोरोना भाइरस महामारी आयो, यसले अर्थतन्त्रलाई गम्भीर क्षति पुर्यायो । कोरोनाभाइरस पछि आन्तरिक उत्पादनलाई जोड दिनुपर्ने, कृषि उत्पादनलाई जोड दिनुपर्ने, औद्योगिक उत्पादनलाई जोड दिनुपर्ने, मझौला उद्योग संचालनमा जोड दिएर रोजगारलाई बिस्तार गर्दै राष्ट्रिय पुँजी निर्माणको दिशामा जानुपर्ने थियो तर ओली नेतृत्वको सरकार गएन” गुरुङले भन्नुभयो ।

उहाँले ओली सरकारकै पालामा कोरोनापछि अर्थतन्त्रलाई सुधार गर्नुपर्छ भन्ने नाममा नेपाल राष्ट्र बैंकबाट दुई खर्ब भन्दा बढी सहुलियत व्याजमा ऋण जारी गरेर अनुत्पादनशील क्षेत्रमा लगानी भएको बताउनुभयो । उक्त ऋण घरजग्गा, शेयर जस्ता अनुत्पादन क्षेत्रमा लगानी भएको बताउँदै गुरुङले भन्नुभयो “सेवामुखी क्षेत्रमा लगानी भएपछि उत्पादन दिएन, उत्पादन नदिएपछि सेवामुखी क्षेत्रमा मुद्रा सप्लाई हुने र उत्पादन नहुने भएपछि बाहिरबाट बस्तु आयत हुन थाल्यो, यसले व्यपार असन्तुलन बन्दै गयो, विदेशी सामान भित्र्याउँदा डलरमा भुक्तानी दिँदा राष्ट्र बैंकसँग भएको संचिती घट्दै गएपछि समस्या भएको हो ।”

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक समेत रहेका गुरुङले रेमिट्यन्स बैंकिङ प्रणालीभन्दा बाहिरबाट आएकाले राष्ट्र बैंकमा डलर जम्मा नभएको बताउनुभयो । उहाँले ओली सरकारको गलत नीतिका कारण अहिले अर्थतन्त्रमा समस्या देखा परेको बताउँदै गुरुङले भन्नुभयो “विगत कालका सरकारका गलत नीतिको परिणाम स्वारुप अहिले अर्थतन्त्र संकट देखा परेको हो । यो रातारात पैदा भएको संकट होइन ।” नेपाल राष्ट्र बैंकले ठिकसँग नियमन गर्न नसकेका कारण समस्या पैदा भएको गुरुङले बताउनुभयो ।
राष्ट्र बैंकको नेतृत्वले वित्तिय नीतिलाई ठिकसँग लागु गर्न नसकेको र वित्तिय अर्थतन्त्रलाई सुधार गर्ने दिशातिर नलागेको बताउनुभयो । “गभर्नरको सोच र विचारमा समस्या देखा पक्कै पनि पर्यो । यसले राष्ट्र बैंकको नेतृत्वबारे सरकारले सोच्नुपर्ने त देखिन्छ” गुरुङले भन्नुभयो । गुरुङले अन्तरिम आदेश दिँदा पनि स्वार्थ जोडिएका न्यायाधीशले मुद्धा हेरिएको समेत बताउनुभयो ।

त्यसैगरी गुरुङले नेकपा एमाले प्रतिगामी र पश्चिगामी शक्ति भएकोले वामपन्थीहरुबीच चुनावी तालमेल हुन नसकेको बताउनुभयो । लामो जनताको संघर्षबाट प्राप्त उपलब्धीको रक्षा पश्चिगामी भन्दा यथास्थितिवादबाटै हुने भएकोले नेपाली काँग्रेससँग चुनावी तालमेल भएको बताउनुभयो ।

पश्चिमा शक्ति केन्द्रहरुले नेपाललाई युक्रेनजस्तो बनाउन खोजेको भन्दै गुरुङले देशको स्वाधिनतालाई ध्यान दिएर पाँच दलबीच गठबन्धन भएको बताउनुभयो । “राज्यका अंगहरुको भताभंगु बनाउने र जबरजस्त संकटग्रस्त पारेर विदेशी सेना ल्याउने चाहना छ, एमालेको नेतृत्वले देशमा अस्थिरता निम्त्याउन चाहन्छ । स्थानीय तहमा यही सोच र प्रवृति हावी वा जिते फेरि पनि राष्ट्रि सुरक्षाम संकट पैदा हुन्छ” गुरुङले भन्नुभयो । नेपालको रक्षाको लागि पनि पाँच दलीय गठबन्धनलाई भोट दिनुपर्ने दाबी समेत गुरुङले गर्नुभयो ।

गठबन्धनको निर्णय विपरित केही स्थानमा उम्मेदवारी दिएको कुरा सुन्नमा आएको बताउँदै गुरुङले उम्मेदवारी फिर्ता लिने बेलासम्म समस्या हल हुने बताउनुभयो । उहाँले यदि त्यो पनि नभए गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा हुन सक्ने पनि बताउनुभयो ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update