Kath Khabar
आजदेखि मोबाइल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन रोक

      काठमाडौं, वैशाख १४। सरकारले १० प्रकारका सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विभिन्न १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो। राजपत्रमा प्रकाशन गरेको विवरणअनुसार, विलासी उपभोग्य वस्तु असार मसान्तसम्मका लागि भित्र्याउन प्रतिबन्ध लगाइएको हो ।

रोक लगाइएका सामान निम्नअनुसार छन्–
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. मोबाइल सेट
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. सबै प्रकारका तयारी मदिरा
६. रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथिका)
७. जिप, कार र भ्यानहरु एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने
८. २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. खेल्ने तास
१०. सबै प्रकारका खेलौनाहरु

यस्तै, मङ्गलबारभन्दा अघिदेखि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा यो व्यवस्था लागू नहुने उद्योग मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले जानकारी दिनुभयो । विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सामग्री आयातमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ । अर्थ मन्त्रालयले विलासी सवारी साधनलगायतका सामग्रीको हकमा एलसी नखोल्नसमेत आग्रह गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा कूल नौ अर्ब ५८ करोड अमेरिकी डलर मौज्दात रहेको छ । चालु आवको आठ महिनामा अमेरिकी डलरको सञ्चितिमा १८.५ प्रतिशतले कमी आएको छ । डलर सञ्चिति ओरालो लागेपछि सरकारले अत्यावश्यक बाहेकका सबै वस्तुको आयातमा रोक लगाउनु परेको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update