
भक्तपुर, वैशाख १८। एमालेका चर्चित नेता महेश बस्नेतलाई जथाभावी हावा कुरा नगर्न भक्तपुरका प्राध्यापकहरूले चेतावनी दिनुभएको छ । स्वतन्त्रताको नाममा बुझ्दै नबुझी हावादारी कुरा नगर्न उहाँलाई सचेत पारेका हुन् ।
१३३ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा आइतबार कलेजमा भएको प्रवचन कार्यक्रममा उहाँहरुले एउटा राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी नबोल्न चेतावनी दिनुभएको हो ।
केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता एवं पूर्व मन्त्री बस्नेतले कलेजको सर्टिफिकेट नक्कली भएको बताउनु भएको थियो । उहाँले कलेजमा पढाउने शिक्षकहरु अयोग्य भएको पनि सार्वजनिक कार्यक्रममा बोल्नुभएको थियो । उहाँले कलेज कुन कानुन अन्तर्गत सञ्चालित हो भनी प्रश्न पनि गर्नुभएको थियो । साथै उहाँले सरकार बलियो भएको भए कलेज बन्द गराउन सक्ने पनि बताउनुभएको थियो ।
कार्यक्रममा कलेजका प्राध्यापकहरूले विश्वविद्यालयहरुले दिएको सर्टिफिकेट पनि सक्कली हुन्छ कि नक्कली भनेर थाहा नहुने नेताले जथाभावी नबोल्न चेतावनी दिनुभएको हो। अयोग्य शिक्षक शिक्षिकाहरूले पढाएका विद्यार्थीहरू पटकपटक कसरी त्रिभुवन विश्वविद्यालय टपर भए ? उहाँहरुको सामूहिक प्रश्न थियो । कलेजमा पढ्ने विद्यार्थीहरु पटकपटक टीयू टपर हुँदै आएका छन् ।
पढाउने मात्रै आफूहरुले भएको स्पष्ट पार्दै उहाँहरुले प्रश्नपत्र अर्कैले बनाउने, कापी जाँंच पनि अर्कैले गर्ने अनि त्यसको मार्कसिट पनि त्रिभुवन विश्वविद्यालय लगायतले दिने अवस्थामा कसरी मार्कसिट नक्कली हुन्छ भनी प्रश्न उहाँहरुले गर्नुभएको थियो । साथसाथै उहाँहरूले अयोग्य शिक्षकले पढाएका विद्यार्थी कसरी पटकपटक नेपाल टप भए भनी प्रश्न पनि गर्नुभयो । उहाँहरुले कलेजकाबारे जथाभावी नबोल्न र आफ्नो बोलीलाई लगाम दिन पनि चेतावनी दिनुभयो । कार्यक्रममा कलेजका प्राचार्य रुपक जोशीले आफनो राजनीतिक भविष्य जोगाउन जुनै संस्थाबारे पनि सोचविचार नगरी जथाभावी नबोल्न अनुरोध गर्नुभयो । कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण उहाँहरूले गर्नुभयो । उहाँले कलेजको ख्यातिकै कारण झण्डै देशभरका विद्यार्थी कलेजमा अध्ययन गरिरहेको पनि जनाउनुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश बस्नेतद्वारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताउनुभयो । यही कारण बस्नेतले आफ्नो राजनीतिलाई टिकाउन कलेजबारे झुटो बोलेको विषय उहाँकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो । वस्नेत पदीय हिसावले उच्च पदमा पुगे पनि उहाँको बौद्धिकता भने नभएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशासनका उमा भट्टलगायतले आफ्नो राजनीतिक भविष्य बचाउन एउटा शैक्षिक संस्थाकोबारेमा अनर्गल प्रचार नगर्न सुझाउनुभयो ।