
काठमाडौं, वैशाख २३। यस पटकको चुनावलाई लक्षित गरेर काँग्रेसको चुनावी गीत जय नेपाल सबैको मुखमा...,को म्युजिक भिडियो बजारमा आएको छ । यो गीतको भिडियो बिहिबार काठमाडौंको दरवारमार्ग स्थित क्युज सिनेमामा रिलिज गरिएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण केसी, बरिष्ट अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासहित यो गीतका कलाकारले भिडियो सार्वजनिक गर्नुभएको हो । यो गीतलाई युवा गायक कृष्ण विकले गाउनु भएको छ । कृष्णलाई महिला स्वरमा गायिका प्रीति आलेले साथ दिनुभएको छ। यसअघि हजुर मुसुक्कै गीत दर्शकमाझ ल्याएर चर्चा कमाउनुभएका कृष्णले यो चुनावी गीत पनि निकै मिठोसँग गाउनुभएको छ । एक नारायण भण्डारीले रचना गरेको यो गीतमा संगीत पनि भण्डारीकै रहेको छ ।
नेपाली काँग्रेसको प्रवक्त प्रकाश शरण केसीले अहिलेको समसामयिक सन्दर्भमा यो गीत निकै राम्रो बनेको कार्यक्रममा बताउनुभयो । जनतासँग जोडिने प्रभावकारी माध्यम नै गीत संगीत र सिनेमा भएको बताउँदै प्रवक्ता केसीले चुनावमा जनतासँग नेता र पार्टीलाई जोड्ना यस्ता गीतहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसार भरी २०० भन्दा बढी देशका करिब ९० प्रतिसत मुलुक लोकतान्त्रिक मुलुक भएको र लोकतन्त्र निकै राम्रो व्यबस्था भएकाले काँग्रेसले लोकतन्त्रलाई विश्वास गर्ने बताउनुभयो । आउँदा दिनमा धेरै भन्दा धेरै कलाकारहरुलाई पार्टीमा जोड्ने प्रतिवद्धता सो क्रममा प्रवक्ता केसीले जाहेर गर्नुभयो । यो गीतलाई यस पटकको चुनावमा धेरै भन्दा धेरै प्रयोग गर्न पनि उनले सबैलाई कार्यक्रम मार्फत अपिल गर्नुभएको छ ।
बरिष्ठ अभिनेता नीर शाहले मुलुकको पहिचान र समुन्नत विकाशको लागि संस्कृति महत्वपूर्ण पक्ष भएकाले विपि कोईरालाको भनाईलाई आफुहरुले शिरोधारण गर्दै नेपाली काँग्रेसमा कटिबद्ध भएका छौं भन्नुभयो । कृष्णको यो गीतले नेपाली काँग्रेस सहित गठबन्धनको चुनाव प्रचार प्रसारमा सघाउन मद्धत पुर्याउने विश्वास शाहले कार्यक्रममा ब्यक्त गर्नुभयो । गायक कृष्ण बिकले चुनावको मुखमा दिएको यो गीत राम्रो उपहार भएको र यसको भिडियो पनि त्यत्तिकै राम्रो बनेको शाहले बताउनुभयो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यो गीत जनताको मुख मुखमा झुन्डिने बताउनुभयो । तीन दिन अघिमात्र नेपाली काँग्रेसमा प्रवेश गरेका खड्काले आफु लामो समयसम्म अरु पार्टीमा लाग्दा आफुहरुको मूल्याँकन ती पार्टीमा नभएकै कारण नेपाली काँग्रेसमा प्रवेश गर्नु परेको दाबी गर्नुभयो ।
यस्तै तीन दिन अघि नेपाली काँग्रेसमा प्रवेश गरेका अर्का अभिनेता भुवन केसीले पनि सम्मान र कलाको हक हितका लागि आफुहरुले नेपाली काँग्रेस पार्टी रोजेको जिकिर गर्नुभयो ‘नेपाली चलचित्र क्षेत्रमा कलाकारिताका माध्यमबाट ४० वर्ष भन्दा लामो समय योगदान दियौं । त्यो योगदानको मूल्याँकन नेपाली काँग्रेसले गर्ने भएपछि हामी यो पार्टीमा प्रवेश गरेका हौं ।’ अभिनेता केसीले भने । यो गीत निकै राम्रो बनेको पनि उनले कार्यक्रममा बताउनुभयो ।
बिहिबार सार्वजनिक गरिएको गीत जय नेपाल सबैको मुखमा...,का गायक कृष्ण बिकले अहिलेको अबस्थालाई मध्यनजर राखेर नेपाली कँग्रेस तथा गठबन्धनको बिजयको लागि यो गीत बजारमा ल्याएको बताउनुभयो ।
यो गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको छ । सञ्जय लामाको छायाँकन रहेको यो गीतको भिडियोमा नेपाली कँग्रेसमा सम्लग्न विभिन्न कलाकार तथा भातृ संस्थाका पदाधिकारीहरुको अभिनय छ ।