
काठमाडौं, वैशाख ३०। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आज महत्वपूर्ण दिन हो ।
निर्वाचनकै इतिहासमा पहिलोपटक मतदाताको रुपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले पनि मतदान गर्ने अवसर पाएका छन् । “यो दिनलाई राष्ट्रिय उत्सवका रुपमा ग्रहण गरी सबै मतदाताले आ–आफ्नो मताधिकार प्रयोग गर्नुहुन अपिल गर्दछु ।” प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभएको छ ।
प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो । कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अधिकार निर्वाचनले प्रदान गर्छ ।
उहाँले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न आह्वान गर्नुभएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्ति एवं मन्त्रिपरिषद् सदस्यले सन्देश र अपिल जारी गर्दै लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचन भएकाले आफ्नो मताधिकारको सदुपयोग गर्न आह्वान गर्नुभएको छ ।
मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ र स्वतन्त्रबाट उठेका ३५ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले ३४ हजार ८३१ पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् ।
यसपटक निर्वाचनका लागि भनेर दर्ता भएका ७९ राजनीतिक दलमध्ये ६५ राजनीतिक दल चुनावी मैदानमा छन् । कूल ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् ।