Kath khabar
काठमाडौंको हलचोक सहित विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु


       काठमाडौं, मंसिर १६। काठमाडौं, महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पूर्व) को हुप्सेकोट गाउँपालिका-५ कान्छिपानीमा ग.प्र.०४-००१ ज ०००६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जीपमा सवार २ जना पुरुष र २ जना महिला गरी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये ७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने ३ जना स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

झापाको दमक नगरपालिका-९ क्याम्पस मोडमा प्र.१–०१–०१६ प ८९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईलाम माई नगरपालिका-१० बस्ने ४७ वर्षीय गोपाल राईको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ ।

सर्लाहीको गोडैता नगरपालिका-१० झगरु चोकमा ना.१त ७६७८ नम्बरको ट्याक्टरले ज.२ प ४५२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय छेकन बैठाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको रामा अस्पताल धनुषामा उपचार भइरहेको छ ।

रौतहटको गरुडा नगरपालिका-१ जयनगरस्थित सडकमा टायर गाडालाई बीआर ३०एल०१४३ नम्बरको मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा भएको दुर्घटनामा परी मोटरसाइकल चालक भारत थाना पुर्नैयाहा बस्ने ३० वर्षीय निरज कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल झाँझपुलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । टायर गाडा साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जाजरकोट, भेरी नगरपालिका-३ थाप्लेस्थित सडकमा प्र.३ ०२१ प ७८८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६१ वर्षीया विजया शाहीको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला  अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update