Kath khabar
छोरीलाई पढाउने स्कुल खोज्दै कलाकार, कवि, तथा निर्देशक उपेन्द्र सुब्बा

 

               काठमाडौं, वैशाख ६ ।  उपेन्द्र सुब्बा आफैँले लेखन तथा निर्देशन गरेको फिल्म 'जारी' ले राम्रो कमाइ गरिरहेको छ । हलमा दर्शकको राम्रो साथ पाएको छ भने समीक्षकले फिल्म जारीलाई राम्रो रेटिङ दिएका छन् । जारी फिल्म हेर्न हलसम्म पुग्ने दर्शकको भिड पनि बढिरहेको छ ।

फिल्मले राम्रो व्यापार गरिरहेको र फिल्मको प्रोमोशनमा व्यस्त निर्देशक सुब्बालाई भने आफ्नी छोरीको रिजल्टले भन्दा स्कुलको व्यवहारले मन दुखाइदिएको छ । सुब्बाकी माइली छोरीले जावलाखेलको डीएभी स्कुलबाट कक्षा ९ को परीक्षा गत चैतमा दिएकी थिइन् । तर, रिजल्ट आउँदा भने उनी फेल भइन् । छोरी फेल भएपछि स्कुलका सह-प्रधानाध्यापकले गरेको व्यवहारबाट सुब्बा दुखी भएका छन् ।

स्कुलले गरेको व्यवहार प्रति गुनासो पोख्दै सुब्बाले भनेका छन्, 'मेरो माइली छोरी जावलाखेलको सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन् । परीक्षा राम्रो गरिन् । पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन । लिइएको परीक्षामा फेल भइछन् । आमा र छोरी भाइस प्रिन्सिपलको कोठामा पस्ना साथ यसको बुवा खै ?  किन नआएको भनी सोधियो रे । नानीको आमाले बिजी भएर आउन पाउनु भएन भनिछन् । भाइस प्रिन्सिपल सहित अरु २ जनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर 'यो बच्चालाई हामी पढाउन सक्दैनौँ । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनन्' भनेछन् । पहिला पनि जोशी सरले 'पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भनेु भन्दै आमा छोरी दुवै मसँग रोए ।'

सुब्बाले छोरीलाई अपमान गर्दै 'पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौँ अन्तै लैजाउ' भन्नु स्कुलको गैरजिम्मेवारी भएको बताएका छन् ।  'कक्षा २ बाट सोही स्कुलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ' भन्नु स्कुलको गैरजिम्मेवारी हो भनेर सम्झेँ । 'विद्यार्थी कमजोर हुनुमा ८/९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै ?' उनले प्रश्न गरेका छन् । 

सुब्बाले स्कुल गएर छोरीको ट्रान्सक्रिप्ट लिएको र अब ९/१० कक्षामा भर्ना गर्ने स्कुल खोजिरहेको बताएका छन् । मंगलबार साँझ फेसबुकमा उनले लेखेका छन्, 'स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं । के के नै भनौँला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ । सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ ।' र यति भनेँ, 'मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नू । हरेक बच्चाहरू क्षमतावान हुन्छन् । एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन् । बच्चाहरूलाई हत्तोसाही नगर्नु । बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिक रूपमा गरिब परिवारकै किन नहोस्, नहेप्नु ।'

आफ्नी छोरीले पेन्टिङ, गायन, नृत्य, अभिनयमा चासो राख्ने गरेको बताउँदै सुब्बाले भनेका छन्, 'मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन् । थोरबहुत जान्दछिन् पनि । यस अलावा फिक्सन पढ्न औधी रुचि राख्छिन् । मलाई मेरो छोरीलाई ९/१० कक्षा पढाउने स्कुल चाहिएको छ । लाग्ने शुल्क म नियमित तिर्नेछु ।'

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update