Kath khabar
आज अन्तर्राष्ट्रिय चिया दिवस, यस्तो छ इतिहास


                    काठमाडौं, जेठ ७ । चियाबाट दिनको सुरुवात नहुने घर सायदै होला । चाहे त्यो दुधको चिया होस्, कालो चिया होस्, ग्रिन टी होस् वा अन्य चिया होस् । धेरै मानिसहरू चिया मन पराउँछन्।

मे २१ लाई अन्तर्राष्ट्रिय चिया दिवसको रुपमा मनाउने गरिन्छ । चियाको इतिहास, उत्पादन, उपभोग र स्वास्थ्य लाभ लगायतका विभिन्न पक्षका बारेमा जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाइएको हो । यस बाहेक यो दिनले विश्वव्यापी चियाको महत्व झल्काउँछ।

सन् २००५ देखि अन्तर्राष्ट्रिय चिया दिवस मनाइँदै आएको छ । पहिले चिया उत्पादकहरुले १५ डिसेम्बरमा यो दिवस मनाउने गर्दथे । तर सन् २०१५ मा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठनमार्फत औपचारिक रूपमा अन्तर्राष्ट्रिय चिया दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा आएको थियो । जसलाई २१ डिसेम्बर २०१९ मा मान्यता दिइयो र २१ मे लाई अन्तर्राष्ट्रिय चिया दिवस घोषित गरियो। त्यसपछि पहिलो पटक २१ मे २०२० मा अन्तर्राष्ट्रिय चिया दिवस मनाइयो। त्यसयता मे २१ मा अन्तर्राष्ट्रिय चिया दिवस मनाइँदै आएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार ५ हजार वर्षअघि चीनमा चिया पिउने गरेको प्रमाण छ । चिया पहिलो पटक ईसापूर्व २७३७ मा चीनमा पत्ता लागेको थियो ।  चिनियाँ सम्राट शेन नुङले पहिलो पटक चियाको स्वाद लिएको कथा छ । जब उनी र उनका सिपाहीहरू रूखमुनि आराम गर्न रोकिए, केही हावाले उडेको चियाका पातहरू उमालेको पानीको भाँडोमा खस्यो, यसबाट चियाको स्वादको उत्पत्ति भएको मानिन्छ । आज चिया संसारमा सबैभन्दा बढी खपत हुने पेय पदार्थ बनिसकेको छ। पानी पछि संसारमा दोस्रो सबैभन्दा लोकप्रिय पेय पदार्थ चिया हो ।

चिया हरेक देशहरूमा एक लोकप्रिय पेय मात्र होइन, धेरै समाजहरूमा सामाजिक चलन, समारोह र आतिथ्यमा पनि महत्त्वपूर्ण भूमिका यसले खेलेको छ । चिया उद्योग संसारभरका लाखौं मानिसहरूको जीविकाको प्रमुख स्रोत पनि बनेको छ ।  अन्तर्राष्ट्रिय चिया दिवस, चिया क्षेत्रको आर्थिक मूल्य पहिचान गर्न र दिगो चिया उत्पादन र निष्पक्ष व्यापार अभ्यास प्रवर्द्धन गर्ने उद्देश्य हो। यसका साथै यस कार्यमा संलग्न श्रमिकलाई उचित पारिश्रमिक सुनिश्चित गर्नु र चिया उत्पादक क्षेत्रमा सामाजिक विकासलाई प्रवर्द्धन गर्नु यसको मुख्य उद्देश्य रहेको छ ।

चिया, विशेष गरी हरियो र हर्बल चिया, धेरै स्वास्थ्य लाभहरूसँग जोडिएको छ किनभने यो एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्समा धनी हुन्छ, जसले समग्र स्वास्थ्य र कल्याणमा सकारात्मक प्रभाव पार्न सक्छ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update