काठमाडौं, पुस ७। नेकपा एमाले सांसद, स्थायी समिति सदस्य एवं बागमती प्रदेश सह-इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौ जिल्ला अधिवेशन भव्य बनाउन निर्देशन दिनुभएको छ । काठमाडौं क्षेत्र प्रदेश–९ ख कमिटीको आज बुधबार सम्पन्न पहिलो बैठकलाई सम्बोधन गर्दे नेता श्रेष्ठले जिल्ला अधिवेशनलाई पार्टीको १० औ महाधिवेशनको झल्को दिनेगरी कार्यकर्ता उतार्न निर्देशन दिनुभएको छ ।
उहाँले भन्नुभयो–१० औ महाधिवेशनमा जसरी जनलहर उत्रियो सोही जन लहर काठमाडौंमा उत्रनुपर्छ । पूर्वमन्त्री समेत रहनुभएका नेता श्रेष्ठले आँउदो निर्वाचन पछि नेकपा एमालेलाई एक नम्बरको पार्टी बनाउन सबै लागिपर्नुपर्ने बताउनुभयो । यो बैठकले जिल्ला अधिवेशनको तयारी सुरुवात भएको छ । अब सबैजनाले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । उहाँले अधिवेशनको पाटी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिनुभयो ।
बैठकमा नेता श्रेष्ठले पार्टी महाधिवेशनमा भएको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौं जिल्लामा रहेका २० वटा कमिटी मध्य पहिलो बैठक राख्ने कमिटी प्रदेश २ ख भएको उहाको भनाई थियो । बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर एवं पार्टी केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिको बारेमा बोल्नुभएको थियो। बैठकमा प्रदेश सदस्य भगवान घले, गोपीचन्द्र कार्की, ईश्वर बिडारी लगायतले केन्द्रीय सदस्यमा विजयी नेतालाई शुभकामना व्यक्त गर्नुभएको थियो । बैठक चन्द्रागिरी नगरका सचिव राजभाई महर्जनले सञ्चालन गर्नुभएको थियो ।
बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य, विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश ख संयोजक एवं काठमाडौं जिल्ला सचिवालय सदस्य दीपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन क्षेत्र ९ को संयोजक अवन्ती सिक्देलले स्वागत मन्तव्य राख्नुभएको थियो ।